माछी मारन हे..नेपाली गायनकी बेपत्ता हीरा

दीपक श्रेष्ठ
विश्वव्यापारीकरण र उपभोक्तावादले नबोल्नेको चामलभन्दा बोल्नेकै पीठोको व्यापार चम्काएको छ । गाउन जान्ने तर हाइ ! हलो ! गर्दै सङ्गीतकारका घरमा धाउन नजान्नेहरू अन्ततः ‘कुवेर राई’ को संस्करण बन्न बाध्य छन् । कतिले बुझ्छन् गीतको गहीराइ, सङ्गीतको मर्म र स्वरको सरगम । त्यही धाउन जान्नेहरूको भीडमा हराएकी एउटी गाउन जान्ने गायिका हुन् हीरादेवी राई ।
तीसको दशकमा नेपाली गायनमा रोजा गायिकाको रुपमा स्थापित हीराको गायन कुन बिसौनीमा पुगेर रोकियो ? त्यसकै खोजीमा प्रज्ञाप्रतिष्ठान पुग्दा केही निराशा र उदासिनता मिश्रित स्वरमा प्रस्तुत हुनुभयो, “गाउनबाहेक केही जानिएन भाइ । के भनौं, मनभरिका पीडाहरू । कुरा गरे धेरै हुन्छ ।”
लाख खर्च गरेर एल्वम निकाल्यो, अलिकति अर्थको जोहो गरेर ‘हिट अफ दि मन्थ’ मा गीत बजायो । अनि ‘हिट खाएको’ अन्तरवार्ता दिन आतुर छ, नेपाली सङ्गीतको पछिल्लो पुस्ता । हिपहप, र्‍याप र रिमिक्स पुस्तालाई सायद सम्झना छैन हीरादेवीको । होस् पनि किन, आखिर हामी स्रोता टेलिभिजन र एफएम रेडियोले ‘हिट’ भनेर ‘जे पस्कन्छ’ जस्तोहोस् त्यो हेर्न र सुन्न बाध्य छौं ।
मुलुकको राजनीतिक सङ्क्रमणको जाँतोमा पिसिएको नेपाल प्रज्ञाप्रतिष्ठानको चौरमा धूपीको सियाँलमा थियौं, हामी । प्राज्ञविहीन भएरै चल्यो प्रज्ञाप्रतिष्ठान केही वर्ष । प्रज्ञामा भर्खरै भएको नियुक्ति पनि वादविवादकै गोलचक्करमा छ । तीनतीनवटा प्रज्ञाप्रतिष्ठान बनेपछि कतातिर घोक्रेठ्याक लगाइने हो, कलाकारहरू थोरै आस अनि धेरै त त्रास छ । त्यही त्रास बोकेर बसेकी हीरामा ‘अब त केही होला कि’ भन्ने झिनो आस पनि छ । ‘काम पनि छैन, जागिरको चाम पनि छैन’ को अवस्थामा रहेका प्रज्ञाप्रतिष्ठानका कलाकारहरूलाई कार्यालय समय विताउन पनि कठिन छ । गाउने, नाच्ने, अभिनय गर्ने र सङ्गीत भर्ने कलाकारहरूलाई प्रज्ञाले काम दिन सकेको पनि त छैन । ‘जाडोमा घाम र गर्मीमा सियाँल ताप्यो अनि जागिर थाप्यो’ को अवस्थामा कलाकारहरूलाई राखेर उनीहरूको सिर्जनाशीलतामा कहिलेसम्म खिया लगाइराख्ने ?
उकालीमा पनि हजुर
मोटर जाँदो रै’छ
ड्राइभर दाइलाई शासना
माया सरर जाउँ है रेलैमा
गाउने ठाउँ, त्यही एउटा रेडियो थियो त्यो बेला । रेकर्डिङका लागि अहिलेजस्तो बग्रेल्ती स्टुडियो कहाँ थिए र ? हीरादेवी सम्झनुहुन्छ, “चाकरी पुर्‍याउन सके रेकर्डका अवसर पाइने नत्र त कहाँ ।” बल्लतल्ल रेडियोमा गीत रेकर्ड गराएबापत पाउने पैसाले कलाकारको जीवन कसरी धानिन्थ्यो र ? राजधानीमा हुने सांस्कृतिक कार्यक्रम, विदेशमा हुने साङ्गीतिक यात्राबाटै कलाकारहरू जीविका चलाउँथे र आफ्नाे कलाकारितालाई बचाउँथे । बाँकीले अरु नै पेसा व्यवसायमा नै रमाउँथे । तर, गायिका हीरादेवीले कहिले महेन्द्र पुलिस क्लव त कहिले एभरेष्ट कल्चर ग्रुपमा गायिकाको रुपमा काम गर्नुभयो, लामो समय । २०३५ सालमा मात्रै हीराले प्रज्ञाप्रतिष्ठानमा गायिकाको रुपमा प्रवेश गर्नुभएको हो । तर, बीचमा केही वर्ष छाडेर पुनः २०४५ सालमा प्रज्ञाप्रतिष्ठान प्रवेश गर्नुभयो ।
विदेश यात्राकै क्रममा बेलायतमा सुन्दर श्रेष्ठसँग हीरादेवीले गाउनुभएको थियो, उकालीमा पनि हजुर मोटर जाँदो रै’छ... । ज्यादै लोकप्रिय पनि भयो । तर, रेडियोमा रेकर्ड गर्नेबेला हीराले पाउनु भएन त्यो गीत । त्यो घटनाले हीराको चित्त फाट्यो । यस्ता घटना कति छन् कति, हीराको गायन यात्रामा । “सायद, मेरो भाग्य पनि त्यस्तै होला । अरु कसलाई दोष दिऊँ”, हीरादेवीको स्वीकारोक्ति छ । महेन्द्र पुलिस क्लवका कार्यक्रमहरूमा नियमितजस्तो गाउने हीरादेवीले गोपाल योञ्जनका थुप्रै गीत गाउनुभयो तर ती धेरै रेकर्डमा आउँदा अरुले नै गाए । यस्तै घटनाहरूले रेकर्डिङ स्टुडियोबाट टाढा पुर्‍यायो हीरालाई । केवल सुब्बाको खुसीले गाउँछु नाच्छु...गीत रेडियोमा रेकर्ड गराएपछिका दिनमा हीराले रेकर्डिङ स्टुडियोमा पाइला हाल्नुभएको छैन । त्यो समय थियो, २०५० साल ।
नेपाली लोक, सुगम सङ्गीतको विकासमा ३५ वर्ष खर्चिसक्नुभएकी हीराले गीत रेकर्ड छाडे पनि गाउन छाड्नु भएन । खुल्न त पछिल्ला दिनमा निजी क्षेत्रका थुप्रै रेकर्डिङ स्टुडियो खुले तर त्यहाँसम्म हीराको पहुँच पुग्न सकेन । तर, आफ्ना केही पुराना गीतहरू सङ्कलन गरेर एल्बम निकाल्ने रहर बोकेर रेडियो नेपाल पुगेकी हीराले गीतका पुराना ‘स्पुल’हरू ‘ड्यामेज’ भएको टर्रा जवाफ मात्रै पाउनुभयो । “त्यसपछि रहर मरेर गयो”, हीराका अगाडि केही दुःखेसो, केही तिता अनुभूति मात्रै बाँकी रहे । ‘लगानी गर्नसक्ने मात्रै कलाकार बन्ने’ विद्यमान नेपाली सङ्गीतको वास्तविकता बनेको छ । त्यो यथार्थको सञ्जालमा गीति एल्बम हीरादेवीको रहरहरू अझै ‘कैद’ नै छन् ।
रेडियोमा आफ्ना कति गीत रेकर्ड छन्, हीरालाई थाहा छैन । “त्यस्तै डेढ सयको हाराहारीमा होलान्”, हीराको अड्कल छ । तर, लाइब्रेरीमा कति सुरक्षित छन, कति गीत बज्छन, अहँ थाहा छैन हीरालाई । रेडियोले ‘प्रतिष्ठित’ गायिकाको दर्जा दिए पनि आजसम्म ‘रोयल्टी’ नामको पत्रमपुष्पम् पाउनु भएको छैन, हीराले । त्यसो त हीराका गीतहरू नै कति पो बजाउन् र, रेडियोमा । भन्नुहुन्छ, “खै ! रोयल्टी पाइन्छ रे भनेको चाहिँ सुनेको हुँ ।”
माछी मारन हो...दाइ हो...
रक्सीलाई चटनी...आउँदै गरन...
रेडियोमा सोझासिधा कलाकारमाथि हुने जालझेलका भुक्तभोगी हीराले गाउनुभएको थियो, यो गीत । नवीन गुरुङको सङ्कलनमा हीरादेवी, नवीन ढुङ्गेल, तीर्थकुमारीले गाएको यो गीत रेडियोको ‘फर्माइस’ कार्यक्रममा बज्दा कयौंपटक सूर्य थुलुङ र साथीहरूको स्वर भनेर बज्यो । भन्नुहुन्छ,“टाढाबाठाले केसम्म गरेनन् र रेडियोमा, खै ! के भन्नु, कुरा काटेजस्तो कति भन्नु ?”
वीरगन्जमा २०२२ र ०२३ सालतिर सांस्कृतिक परिषद् स्थापना गर्ने उद्देश्यले भीमविराग विद्यालयहरूमा कलाकार खोज्नपुगेका थिए । त्यही बेला हीरादेवीको भेट भीमविरागसँग भएको थियो । कक्षा ७ मा पढ्दै गरेकी हीरादेवीको स्वर मन पराएर भीमविरागले संस्थामा आबद्ध गराए । र, २०२४ सालमा पहिलोपटक रेडियोमा गाउन आइपुगिन् हीरा,
को होला त्यो
सपनीमा मलाई बोलाउने...
रेडियोमा आउँदै गीत गाउँदै गर्ने क्रम चल्यो केही वर्ष । त्यही क्रममा २०३० सालतिर झापाका सन्तोष राई भन्ने ठिटोसँग महेन्द्र पुलिस क्लबको सांस्कृतिक कार्यक्रममा भेट भयो, हीराको । सन्तोषले झापाको लोकनृत्य लिएर आएका थिए । त्यही बेला सन्तोषको सङ्कलनमा यी जोडीले गीत गाए, धान है झुल्यो खोला है खोला...। त्यो युगल गीत गाएपछि यी जोडीबीच प्रेम पो फूल्न थाल्यो । सन्तोषले गीत लेखे हीराकै लागि, अनि गाउनुभयो हीराले,
मनको कुरा भन मायालु
हेरिदिँदैमा काम चल्दैन
चुप लागेर बसुँ कति म
इशाराले भाकै पुगेन
त्यसपछिका दिनमा सन्तोष र हीराले थालेको जीवनयात्रा गीतरसङ्गीतको क्षेत्रमा पनि सँगसँगै नै छ । “दुवै जनाको पेसा एउटै क्षेत्रमा भएकाले जीवन सरल बनेको छ”, हीराको ठम्याइ हो यो ।
“त्यो बेला गायनमा धेरै साधना हुन्थ्यो”, जीवन यात्राको अन्तरङ्ग कुराकानीकै क्रममा हीराले विगत कोट्याउनुभयो । टेक्नोलोजीले गायनलाई सरल बनाइरहेको वर्तमानमा हीरादेवीहरू ‘अनफिट’ भइरहेका छन् । एउटै गीतलाई महिनौं लगाएर ‘प्राक्टिस’ गर्नुपर्ने बाध्यता विगतमा थिए । तर, अहिले गीत सिकेको दुई दिनमा रेकर्डिङ स्टुडियो धाउने चलन बढ्दै गएको छ । परिणाम, गीति सिर्जना केवल प्रविधिको उपज बन्दै गएको छ । भन्नुहुन्छ, “हामीलाई त प्रविधिले विस्तारै कुहीरोको काग बनाउँदै लगेको छ ।”
००००
गाेरखापत्रमा प्रकाशित
Fri, 02/27/2009 
http://www.majheri.com/node/1541

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप