माले पाटीको फेरियो रुप
सिन्धुली जिल्लाको सुनकोशी गढतिरमा पुरातात्विक तथा ऐतिहासिक महत्वका दर्जनौँ पाटी, पौवा, धर्मशाला र सत्तल रहेका छन् । संरक्षणका अभावका कतिपयको अस्तित्वसमेत लोप भइसकेको अवस्था छ । तथापि, केही सम्पदाको संरक्षणको प्रयास भएको छ । यस्तै भग्नावशेषका रुपमा रहेको शताब्दी पुरानो पाटीको संरक्षण गरिएको छ । पुरातत्व विभागको पहलमा यो संरक्षण भएको हो ।
सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ चैनपुरस्थित पाटी विव्रmम सम्वत् १८५० तिर सरदार अरिमर्दन थापाले बनाउन लगाएका हुन् । दुई तले यो पाटी कालीगढीयुक्त समेत रहेको छ । यो माले पाटीका रुपमा चर्चित रहेको छ । किंवदन्तीअनुसार अन्य यस्तै पाटी फेरि बनाउन नसकोस् भनेर यो पाटी बनाउने कालीगढीको हात काटिएको थियो । मगर भाषामा ‘छैन’ भन्नका लागि ‘माले’ भन्ने शब्द प्रयोग गरिन्छ । यो क्षेत्रमा मगर समुदायको समेत बसोबास रहेकाले यस पाटीलाई मगर समुदायले मालेपाटी भन्न थालेको भनाई पाइन्छ ।
यो पाटीको पुरानो अवस्था तोरण, थामहरु, आँखीझ्यालहरु, ढोकाहरु, टुँडालहरु, तेलीया इँटा, साधारण इँटा, काठ, माटो, ढुङ्गाबाट बनाइएको २५ फिट उचाई, ३५ फिट लम्बाई र १५ फिट चौँडाईको थियो । झिँगटीको छाना थियो । तीन खापे आँखी झ्याल, कालीगढीयुक्त १० वटा ठूलाठूला थाम राखिएका थिए । तथापि, अहिले जस्ता ठोक्ने कार्य गरिएको छ ।
पूर्वी पहाड र तराईबाट नेपाल (काठमाडौँलाई त्यो समय नेपाल भन्ने चलन थियो) आउजाउ गर्ने बटुवाको प्रमुख बास बस्ने ठाउँको रुपमा यो पाटी रहेको थियो । पछि यो पाटीको छेउमा एक दुई पसल समेत राखिएका थिए । चूनपुर खोलाको किनार र सुनकोशीको केही उचा भागमा फाँटको छेउमा रहेको यो पाटीसम्म पर्यटक लैजाने कार्यलाई सुनकोशी गाउँपालिकाले योजना बनाउन आवश्यक छ । त्यसमा स्थानीय युवा क्लव, युवा, महिला, बुद्धिजीवी, होटल व्यवसायीको समेत सहभागिता हुनु आवश्यक देखिन्छ ।

Comments
Post a Comment