मान्छे पनि काले त्यति राम्रो थिइन: दुर्गालाल श्रेष्ठ

दीपक श्रेष्ठ


भनिन्छ, काठमाडौँको नेवार समुदायमा हप्तै र महिनैपिच्छे एक न एक चाडपर्व पर्छ । ती पर्वहरूको सांस्कृतिक महìव पनि छ । त्यही पर्वमध्येको गाईजात्रा, इन्द्रजात्राको बेला टोल(टोलका डबलीहरूमा नाटक मञ्चन हुन्थे । इन्द्रजात्राकै बेला हुनुपर्छ, डबलीकै लागि २००४ सालतिर बाङ्गेमुढाका बालकहरूले ‘सत्तलसिंह’ नाटकको ‘रिहर्लसल’ गरिरहेका थिए । नाटक ‘रिहर्लसल’ गरिरहेकाहरू दुर्गालालका टोलछिमेकी दौँतरीहरू थिए । सत्तलसिंह नाटकको नायिका हुनुहुन्थ्यो अहिलेका वरिष्ठ गायक प्रेमध्वज प्रधान । नाटकको रिहर्लसल हेर्न साथीहरूसहित पुग्नुभएको थियो दुर्गालाल । झ्याल, ढोका सबै थुनेर पाटीको भित्री कोठामा ‘रिहर्लसल’ भइरहेको थियो । भित्र केही देखिन्न थियो तर झ्याल, ढोकाको चेपबाट भित्रको केही आवाज भने सुन्न सकिन्थ्यो । त्यही पनि ठेलमठेल गरेर दुर्गालालले ताल घुसार्ने ढोकाको प्वालबाट भित्र अँध्यारो कोठा चियाए तर भित्रबाट निर्दयी कसैले ढोकाको प्वालबाट चोर औँलाले बेस्सरी घोचिदियो । चोर औँलाले आँखा घोचेपछि के चाहियो र ? दुर्गालाल नराम्ररी रन्थनिए । धन्न आँखामा कुनै गहिरो चोट लागेन । त्यो क्षण सम्झनुहुन्छ दुर्गालाल( “घोच्यो आँखा, दुख्यो मुटु ।”
वरिपरि सम्मान र पुस्तक सजाइएको सानो, न्यानो कोठामा हामी दुई गफिइरहेका थियौँ । बुढ्यौली उमेरमा विगतका सम्झनाका झनिामसिना पोयाहरू उधिन्ने प्रयत्नमा हुनुहुन्थ्यो । बाहिर सडकमा सवारीसाधनको चर्को हर्नलाई छिचोल्दै लोकगीतको मीठो धून बजिरहेको थियो । “अँ, पख्नुस् है” विस्तारै थेगिँदै दुर्गालाल उठ्नुभयो र दुई कप चियाको अर्डर गर्नुभयो । “अँ हामी के कुरा गर्दै थियौँ”, फेरि सम्झँदै “ए, चार सालको कुरा ।” दुर्गालाल फेरि तिरस्कार दिने उही चोर औँलातिर पुग्नुभयो ।
आफ्नै साथीबाट अपमान, तिरस्कार र चोर औँलाको प्रहार पाएपछि न्हैकन्तलटोलका बालकहरू आफूहरू पनि त्यस्तो नाटक गर्नसक्ने र गरेरै छाड्ने निर्णयमा पुगे । त्यसको सम्पूर्ण जिम्मेवारी घाइते दुर्गालालकै थाप्लोमा हाले साथीहरूले । दुर्गालालले नाटक लेख्नुभयो, ‘प्रेम जीवन अन्धकार’ । नाटकमा गीत पनि लेख्नुभयो, अभिनय पनि गर्नुभयो उहाँले । सङ्गीत भर्नुभयो, हुतराज शर्माले । अनि सुरु भयो दुर्गालालको अभिनय र लेखन यात्रा । ६१ वर्षे लेखन यात्राको समीक्षा गर्दै दुर्गालाल भन्नुहुन्छ( “मेरो लेखनको प्रेरणा भन्नुस, त्यो चोर औँला हो । त्यो चोर औँलाप्रति आभारी छु ।”
त्यसपछि सालिन्दा नाटक लेखन र मञ्चन गर्न थाल्नुभयो उहाँले । त्यो क्रम २०१३र०१४ सालसम्म जारी रह्यो । त्यसपछि उहाँ लेखनतिर अलि केन्द्रित हुन थाल्नुभयो । र, जीवनका अनुभवबाट यो पनि सिक्नुभयो, “एउटा अपमानलाई धैर्यपूर्वक पाल्न जान्यो भने अमूल्य वरदान हुँदोरहेछ ।” सारेगम...को ‘स’ पनि आउँदैन थियो उहाँलाई । तर हिन्दी गीतका मेलोडी यताउता गरेर भए पनि थुप्रै नाटकका गीतमा लय हाल्नुभयो । थुप्रै नाटक लेखन, निर्देशन र अभिनय गर्दा पनि ‘हरो’ बन्ने रहर कहिल्यै भएन रे उहाँलाई । भन्नुहुन्छ, “मान्छे पनि काले त्यति राम्रो थिइँन । अरूले मन नपराएका भूमिकामा नै रमाउँथेँ ।”
असन र बाङ्गेमुढाको बीचतिर न्हैकन्तलटोलमा चाःबहालमा बुद्धविहार छ । त्यहाँभित्रको एउटा चोकमा पाँच घर थिए । ती घरमध्ये सबैभन्दा होचो घरको पहिलो तलामा विक्रम सम्वत् १९९२ सालमा जन्मनुभएका दुर्गालाल आर्थिक रूपमा गरिब भए पनि दुःखी हुनुहुन्थेन । किनकि आमाको वात्सल्यले त्यो अनुभूति दुर्गालालमा हुन पाएन । तैपनि समाजमा भने गरिब भएकै कारणले उहाँ अपमानित हुनुपथ्र्यो । प्रसङ्ग २००४ सालतिरको हो । प्रारम्भिक शिक्षा आप्mनै टोलमा अध्ययनपछि कक्षा पाँचमा अध्ययनका लागि पद्मोदय हाइस्कुलमा पुग्नुभयो । गरिब भएकै कारणले साथीहरू दुर्गालालसँग बोल्न रुचाउँदैन थिए । सँगै बस्न नचाहेर टाढै बस्न चाहन्थे । प्रायः टालेका सुरुवाल र जुत्ता चप्पलको अनुहार नदेखेका गोडामा दुर्गालाललाई विद्यालयमा पाएपछि साथीहरूले के गन्थे । कक्षा कोठाको अगाडिको सिट त उहाँका लागि कल्पना मात्रै थिए । तर विद्यालयमा गाना गाउँदा निर्धक्क र ठूलो स्वरमा मिठासपूर्ण गाउने अनि छापा अक्षर लेख्ने दुर्गालालको क्षमता देखेर भने शिक्षकहरू खुबै प्रभावित थिए । पढाइमा पनि दुर्गालाल राम्रैमा गनिनुहुन्थ्यो । उहाँ स्मरण गर्नुहुन्छ, “मेरो हस्तलिखित बोकेर माथिल्ला कक्षाका विद्यार्थीहरूलाई गुरुहरूले देखाउनुहुन्थ्यो, यी यस्तो पो अक्षर लेख्नुपर्छ भनेर ।” त्यसपछि आफूप्रति साथीहरूले हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको दुर्गालालको सम्झनामा छ ।
साहित्यकार चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठको साहित्यिक प्रभाव आफूमा परेको बताउने दुर्गालालको मात्रिक, वाणिक छन्दमा थुप्रै कविता, गीत छन् । “मलाई छन्द धेरै आउँदैन”, दुर्गालाल भन्नुहुन्छ, “सबैभन्दा प्रिय छन्द त लोक छन्द (लय) हो । लोकलयलाई जातीय छन्द भन्न रुचाउँछु । त्यो छन्द आप्mनैजस्तो लाग्छ ।” पद्मोदयबाटै एसएलसी उत्तीर्णपछि क्याम्पस भर्ना हुनुभयो तर साहित्य, सांस्कृतिक झमेलातिर लागेपछि उहाँले क्याम्पसको परीक्षा नै छाड्नुभयो । भन्नुहुन्छ, “पढ्नुपर्ने कुरालाई गम्भीरताका साथ लिइन ।” साहित्यकारभन्दा पनि भाषिक आन्दोलनको सिपाहीभन्दा गर्व गर्नुहुने दुर्गालालले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा घोषणा गर्नुपर्ने मागसहितको आन्दोलनका लागि पनि मङ्गलाचरण गीत लेख्नुभएको थियो,
झीगु खः नेपाल सम्वत
धैगु राष्ट्रिय भावना
झी नुगः दुने झल्ल खय्मा
न्हू दँ या शुभकामना
कन्या मन्दिरमा २३ वर्ष बालबालिकालाई पढाउने क्रममा आफैले धेरै सिकेर आएको अनुभव उहाँमा छ । बालबालिकासँगको त्यही सङ्गतकै प्रतिफल बालसाहित्यमा कलम चलाउन सकेको अनुभव उहाँको छ । कन्या मन्दिरका तत्कालीन प्रधानाध्यापक केदारनाथ न्यौपानेको सहयोगलाई पनि उहाँ बारम्बार सम्झनुहुन्छ ।
टेक्सासमा बस्ने नातिको विवाहका लागि दुई महिनाअघि अमेरिका पुग्नुभएका दुर्गालाल १२ दिन मात्र भयो नेपाल फर्केको । कोलोराडो, वासिङटन डीसी, टेक्सासलगायत सहरमा भएका साहित्यिक जमघट र भेटघाटमा थुप्रै सम्मान र प्रशंसा बटुल्न पुगेका दुर्गालाल केही दिन छोराले किनेको प्mल्याट कुरुवा बन्न पुग्नुभयो । दिक्क लाग्दा ती दिनहरूमा आठ हरफका ७० भन्दा बढी कविता कोर्नुभयो । त्यही पनि करिब हप्ता दिनमा । टेक्सासको हरियालीले उहाँलाई भुतुक्कै र्पायो, लोभ्याउनु लोभ्यायो । ‘कवितामा टेक्सास’ कविता सङ्ग्रहलाई अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनको जिम्मेवारी लिएको छ । एउटा कविता सङ्ग्रह निकाल्न पुग्ने सङ्ख्यामा नेपाल भाषामा पनि कविता लेख्नुभयो, टेक्सास बसाइँमा । “धेरै गीत लेखियो तर फूलको आँखामा फूलै संसार...गीतले मात्रै चर्चा पाउनु भनेको के हो ? मैले बुझ्न सकेको छैन”, अमेरिका भ्रमणपछि यही द्विविधा लिएर र्फकनुभयो दुर्गालाल । अमेरिकामा जति जमघट र भेटघाटमा पुग्नुभयो फूलको आँखामा...गीत बजेको र त्यसकै मात्र चर्चा पाउनुभयो, उहाँले । “ऊ यहीँनेर त हो, आनी छोइङ र न्हृयु बज्राचार्य बसेर धुन सुनाएको अनि म यहीँ बसेर त्यो गीत लेखेको”, म बसेकोतिर औँला तेस्र्याउँदै बुद्धको पेन्टिङ मुन्तिर बस्नुुभएको उहाँले गीत सिर्जनाको प्रसङ्ग कोट्याउन पुग्नुभयो । न्हृयु बज्राचार्यले गितारमा धुन सुनाएपछि छ मिनेट पनि लागेन रे, त्यो गीत फुर्न, फूलको आँखामा फूलै संसार... । द्वन्द्वकालमा जन्मेको त्यो गीतले चर्चाको शिखर चुम्यो, जुन अद्यावधि छ । त्यसपछि आनीले नेपाल भाषा, बालगीतसमेत गरी दुर्गालालकै शब्दमा पाँच वटा एल्बम प्रकाशित गरिसक्नुभएको छ ।
धेरै वर्ष भयो न्हैकन्तलटोलबाट दुर्गालाल थँबहीको क्वाः पुखुमा सर्नुभएको । केशरमहल वरपर स्याल कराउँथ्यो रे, क्वाः पुखुमा उहाँ सर्दा । थँबही आजभोलि ठमेलमा अनुदित भएको छ । विदेशीहरूले ह्याल्मोलाई हेलम्बूमा अनुवाद गरे, त्यसैगरी थँबहीलाई ठमेल । “यो खस भाषिक साम्राज्यको सानो उदाहरण हो”, केही उच्च स्वरमा दुर्गालालले भन्नुभयो( “भाषिक साम्राज्य किन ? भाषिक एवं सांस्कृतिक बहुलताले फस्टाउने अवसर पाएन भने नेपाल कसरी नयाँ नेपाल हुन्छ ?”
दुर्गालालको जिन्दगी छन्द र लयमा सक्रिय छ । दुर्गालालको गीत र कविता मात्र हैन, भाषणमा पनि लय, ताल र सुर हुन्छ भन्नेहरूको कमी पनि छैन । तर उहाँको अनुभवमा आप्mनै जीवन लयबद्ध छैन । धेरै ठाउँमा लय भङ्ग भएका छन् । योजनाविहीन जीवन । भन्नुहुन्छ, “हिँडिरहेको छु तर लयबद्ध छैन । ताल र सुर, छन्दमा मेरो जीवन छैन ।”
दुर्गालालको लेखनको कुनै सूचीबद्ध समय छैन । जेसुकै घटना, समाचारले दिमागमा चलचल पैदा गर्नसक्छ । केही लेख्न दिमागमा भाव उम्लिरहेको हुन्छ । लेख्न कलम उठाउनु हुन्छ दुर्गालाल । तर छापा अक्षर लेख्ने त्यही हात थरथराउन थाल्छ अनि त्यसै थला पर्छन् सिर्जनाको त्यो सुनकोसी । तैपनि मान्दैन दुर्गालाल मन । किरिमिरी अक्षर कोर्न पुग्छन्, अगाडि जेजस्तो अवस्थामा जुन कागज पाइन्छ । त्यही त भो पुस १ गते, जब पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति बुसमाथि इराकी पत्रकार मुन्तर अल जैदीले जुत्ता प्रहार गरेको समाचार प्रकाशित भयो । समाचारले दुर्गालालमा उद्वेलन पैदा गरिदियो अनि त्यही पत्रिकामा कविता कोर्न पुग्नुभयो, छैन, इराक मरेको छैन...। पत्रिकामा किरिमिरी कोरिएको कविता देखाउँदै भन्नुभयो, उहाँले, “भाव फुरेपछि म बग्छु, जस्तोसुकै अप्ठेरा किन नहुन् ।”
सुत्ने र उठ्ने कुनै निश्चित समय छैन उहाँको । नरम र न्यानो ओच्छ्यानमा सुत्यो तर निद्रा पटक्कै पर्दैन । आजकाल उहाँमा निद्रा कम पर्न थालेको छ । थकाइलाग्दा झन् निद्रा पर्दैन । काँचो आँखा लिएर ‘मर्निङ वाक’ मा निस्कनुहुन्छ उहाँ । उमेर हुँदा त स्वयम्भूको उकाली चहार्नुहुन्थ्यो । अहिले त्यो त्यति सहज छैन । असन, इन्द्रचोकको सेरोफेरो नै काफी छ । ‘मर्निङ वाक’ मा असन पुग्दा सडक पेटीमा प्लास्टिक, बोरा, कुकुरको साथमा मस्त निद्रामा भेटिन्छन् सडक बालकहरू । आहा ! कस्तो मिठो निद्रा । दुर्गालाललाई गजबको आरिस लाग्छ, “यसैगरी म पनि निदाउन पाए ?” अनि मनभरी यस्तो सोच्दै घर र्फकनुहुन्छ दुर्गालाल “निद्रा जसले पाउँछ ऊ ज्यादै धनी र भाग्यमानी हो ।”
००००
गाेरखापत्रमा प्रकाशित
 Fri, 12/19/2008 - 20:53
http://www.majheri.com/node/1155

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप