भौकाजी

दीपक विहीन

 

Share:    -
कलाको ‘स्कूलिङ’ ठीक ढङ्गले नचलेका कारण नेपाली कलाको मौलिकता नरहेको धारणा राख्ने डा. रामकुमार भौकाजी कला प्रतिभा खार्ने काममा लागेका छन् । भन्छन्, “जबसम्म नेपाली स्कूलिङमा कला विद्यार्थी तयार पारिन्न तबसम्म नेपाली कलाको मौलिकता भेटिन्न ।” विगत चार वर्षदेखि युरोपियन शैलीमा ‘पेन्सिलले नापेर’ विद्यालय छात्र–छात्रालाई चित्रकला सिकाउँदै आएका छन् भौकाजी । “यिनीहरूलाई लप्पन–छप्पन केही थाहा छैन”, चित्रकला सिक्न बसेका आपूm वरिपरिका बालबालिकालाई देखाउँदै भन्छन्, नेपाली कलाको नयाँ युग हाँक्ने सारथि हुन् ।” माटाका सुराही, सिसाका बोतल, विभिन्न आकार प्रकारका सामानमा प्रकाशको प्रभाव अर्थात स्टिल लाइफ उतार्न वरिपरि बसेका बालबालिकाहरू मुसुक्क हाँस्छन् भौकाजीका कुरामा । उनी दाबी गर्छन्, “जुनसुकै कलाकारहरूका अगाडि यिनीहरूलाई उतार्न सक्छु ।” थुप्रै हण्डर, ठक्कर पाएँ । अब आपूmले सिकेको ज्ञानलाई राष्ट्रमा नै रोप्छु भनेर लागेको छु भन्छन्, भौकाजी । द राइजिङ क्रिएटर र नेपाल एसिया सुकिरोभ आर्ट क्लवको माध्यमबाट देशभरका करीब १८ सय बालबालिकालाई चित्र सिकाउँदैछन् । चार वर्षको दौरानमा करीब १५ हजार बालबालिकालाई आधारभूत चित्रकला सिकाइएको उनी बताउँछन् । विभिन्न विद्यालयलाई ‘सेन्टर’ बनाएर राजधानीमा मात्र ११५० बालबालिकालाई चित्रकला सिकाउँदै आएका छन् उनले । त्यसमध्ये स्तरीय छानेर थप तालिम दिँदै जाने योजनामा छन् उनी ।
आपूmसँग चित्रकला सिकिरहेका कलिला हातमा नेपाली कलाको सुन्दर भविश्य देख्छन् उनी । कलिला हातकै सहारामा उत्साह जुर्मुराएका छन् उनमा–‘कलामा रहेको परम्परागत धारणालाई भत्काउँछौँ । र, नेपालको नयाँ कलाधारलाई विकास गरेरै छाड्छौं ।’ जाति केन्द्रित गुरुकुल शिक्षाको रूपमा रहँदै आएको कलाले नेपाली कलालाई एक हदसम्मको उच्चतम् विन्दुमा पु¥याएको बताउँदै २० को दशकमा नेपालबाट गुरुकुल शिक्षा हट्दै गएको र नेपाली मौलिकता हराएको धारणा ब्यक्त गर्छन् उनी । “हरेक समाजसँग कलाको आफ्नै बिम्ब, प्रभाव हुन्छ । विषयवस्तु जे भए पनि ‘कलर’ र ‘कम्पोज’ मा राष्ट्रियपन झ्ल्कन्छ । नेपाली कलाको चारित्रिक विशेषता ‘ब्राइटनेस’ र न्यानोपन हो । त्यसभित्र विभिन्न व्यक्तिका शैली झ्ल्कनसक्छ,” डा. भौकाजीको निक्र्यौल छ । मानवीय संवेदनशीलतालाई जस्ताको तस्तै प्रकाशनमा ल्याउने कार्य नै कला हो । रंग, रेखा या अन्य कुनै माध्यमबाट जीवनका जुनसुकै आधारलाई प्रकाशनमा ल्याउन सकिन्छ उनको विचारमा । भन्छन्, “लोक कला नै नेपाली कला हो । त्यसको पेरिफेरीमा नेपाली कलालाई विकास गरिँदै लानुपर्छ ।” डा. भौकाजी कुनै पनि काममा लागेपछि जोतिइरहन्छन् एकोहोरो जबसम्म लक्ष्यमा पुगिन्न । उनको यो मुढी र एकाग्रपनले कहिलेकाहीँ ‘सन्काहा’ को पगरी समेत लाग्नेगरेको पाइन्छ । प्याच्चप्याच्च बोलिहाल्ने बानी, किन हो कुन्नि वर्तमान कला सिर्जना धर्ममा बेइमान भएको ठान्छन् । “पुराना भन्नेहरूको सोचाइ नै सङ्कीर्ण छ, नयाँलाई प्रोत्साहन नै नदिने”, भन्छन् । “म अलि अमिल्दो छु, देख्या कुरा प्याच्च बोलिहाल्ने, कोही खुशीहोस् कि रिसाओस् मतलब गर्दिनँ” उनी थप्छन् ।

कला विज्ञानमा पहिलो नेपाली विद्यावारिधि हुन् डा.रामकुमार भौकाजी । श्री ५ को सरकारको छात्रवृत्ति अन्तर्गत पूर्व सोभियत संघमा पढ्न गएका भौकाजीले एमएफएमा ‘इसल’ पेन्टिङमा विशेषज्ञता हासिल गरेका छन् । मस्को स्टेट आर्ट इन्ष्टिच्युट (भीआई सुरिकोभ) बाट कलामा पोष्ट ग्राजुएट र अल युनियन रिसर्च इन्ष्टिच्युट अफ रेष्टुरेशन मस्कोबाट पनि पोष्ट ग्राजुएट ट्रेनिङ गरेका छन् । कलामा महाविद्यावारिधि गर्ने तयारीमा छन् उनी अहिले । मस्कोमा १२ वर्षको कला विज्ञानमा पीएच् डी गरेपछि सन् १९८८ तिर नेपाल फर्किएका भौकाजीले नेपाली कलाको उत्थानमा लाग्ने जमर्को त गरे तर पाएनन्, कतैबाट सहयोग । भन्छन्, “भक्तपुरको ५५ झयाले दरबारभित्रको जयस्थिति मल्लकालीन चित्र निःशुल्क रेष्टुरेशन (बिग्रिएका पुराना चित्रकलालाई पुरानै अवस्थामा संरक्षण गर्ने कला) गर्न खोजेँ, दिएनन् । धेरैपछि थाहा पाएँ, इटलीको प्रोफेसरलाई कन्ट्याक्टमा त्यो काम दिइएछ ।” नेपाली कला र कलाकारको खुट्टा तान्ने प्रवृत्तिको उदाहरणका रूपमा सो घटनालाई लिएका छन् उनले । दुई वर्ष जर्मनमा बसेर रेष्टुरेशनको काम गरेको बताउने भौकाजी दिक्दारी व्यक्त गर्दै भन्छन्, “म नेपाललाई माया गर्छु तर नेपालीलाई हैन ।”
आफ्नै खर्चमा बालबालिकालाई चित्रकला सिकाउँदै आएका भौकाजीको सो कार्य कतिलाई बहुलठ्ठीपना पनि लाग्नसक्छ । भन्छन्, “लागोस् नै, यसलाई मैले आफ्नो कर्तव्य ठानेको छु नेपाल आमाप्रति ।” आफ्नो एउटा कृति बेच्न पाए बालबालिकालाई एक वर्ष चित्र सिकाउन खर्च पुग्ने उनी बताउँछन् । दाबी गर्छन्, “वाटर कलर माध्यममा तयार पारिएका सेरिजहरू १० हजार डलर भन्दा कममा बेच्दिनँ ।” करीब २५ सय थान चित्रकला त्यतिकै थन्क्याएर राखेका छन् उनले । देश बाहिर, भित्र गरी ४५ पटक चित्रकला प्रदर्शनी गरिसकेका भौकाजीका ‘माई नेपाल’ सेरिज मात्र दुई हजार थान रहेको उनी बताउँछन् । भन्छन्, “अन द स्पट सात वर्ष लगाएर बनाइएका ती चित्रहरू फ्रेमिङ गर्न मात्र लाखौँ लाग्छ ।” 
हिमाल खबर पत्रिकामा प्रकाशित

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप