नसोचेको सफलता पाएँ- गायिका अन्जु पन्त
दीपक विहीन
न बिर्से तिमीलाई न पाएँ तिमीलाई
विनाअर्थ दीलमा सजाएँ तिमीलाई
उदृत
गजल पङ्तीसँगै चर्चाको चुलीमा छिन्-'भर्सटाइल' गायिका अन्जु पन्त ।
यद्यपि, अन्जुका अनगिन्ती गीतहरू चर्चामा थिए र छन् । तै पनि अन्जुलाई
सर्वाधिक चर्चामा भने यही गीतले ल्यायो ।
बढी त उनी
चलचित्रमा जमेकी छन्, 'प्लेब्याक सिङ्गर'का रूपमा । सागरसरी चोखो माया
तिमीलाई दिउँला...(सिलसिला), गोरी भनेनी भन, काली भनेनी भन...(मौसम),
भुनभुन बोली भमराको...(सपुत), म तिमीविना मरिहाल्छु..., माया गर
मायालुले...(घायल), ए है म तिमीलाई हेरिहेरि रहुँ...(खलनायक), ओय ओय
पि्रयतम....(मिस्टर डन), यही त माया...(डन द अण्डरवल्र्ड), गयो गयो मन मन
छलीछली मन गइगयो...(सुन्दर मेरो नाम), ऐना मात्र हेरुँ लाग्छ...(युद्ध),
कहाँ भेटिएला..., हाम्रो मिलन कहिले हुन्छ...जस्ता दर्जनौं गीतहरू अन्जुको
स्वरले कर्णपि्रय छन् । बनिरहेका चलचित्रमा उनको स्वर अनिवार्यजस्तै बन्ने
गरेका छन् ।
म्युजिसियन स्टुडियोमा 'सडक' चलचित्रको गीत
रेकर्ड गर्दैगर्दा भेट भएकी अन्जुसँग व्यस्तता थियो । आम्दानीको थोरै
आत्मसन्तुष्टि पनि थियो । अाफ्नाे कामप्रति लगनशीलता थियो, तर त्यस्तो 'हिट'
हुने ठूलो कुनै अपेक्षा थिएन । १३ वर्षे गायनयात्रामा कति गीत गाइयो ?
प्रश्न भुइँमा खस्न नपाउँदै उनी भन्छिन्-"ला..खै, कति गीत गाइयो रेकर्ड नै
पो छैन । दुई सयभन्दा बढी चलचित्रमा गाइयो । भए होलान् छ सयभन्दा त माथि
।"
कृष्णमान डङ्गोलसँग १४ वर्षको उमेरमा सङ्गीत सिक्न थालेकी
अन्जुसँग सङ्गीत शिक्षाको कुनै डिग्री छैन । उनको डिग्री भनेकै सुमधुर गला
हो । श्रोताको मन छुन सक्ने कला हो । २०५३ सालमा रेडियो नेपालमा भजन
रेकर्ड गराएर गायनको औपचारिक यात्रा थालेकी अन्जुले रिमेक, रिमिक्स,
आधुनिक, लोक-आधुनिकदेखि चलचित्र गीत/सङ्गीतसम्म आफूलाई अब्बल गायिकाको
रूपमा पेस गरिसकेकी छन् । काठमाडौँकी रैथाने अन्जुले नेवारी भाषाका गीतहरू
पनि गाएकी छन् ।
उनका सङ्गीत गुरु कृष्णमानले भन्ने
गर्थे-'अन्जु तिमी एक दिन नेपालको ठूलो गायिका हुन्छौ, तिम्रो स्वरमा त्यो
ताकत छ' । गुरुतिर पुलुक्क हेरेर उनी फिस्स हाँस्थिन् । रेडियो नेपालद्वारा
२०५४ सालमा आयोजित राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि गुरुले
फेरि भने-"स्यावास हामी सबैको नाम राख्यौ ।" २०६० सालमा 'गाथा' गीति
एल्बम प्रकाशनपछि अहिले उनी 'कोशेढुङ्गा' को तयारीमा छिन् । यसअघि रिमेक
एल्बम 'कम्पन' लगायत दर्जनौं 'कलेक्सन एल्बम' मा उनले स्वर दिएकी छन् ।
आलोकश्रीको 'संयोग' एल्बममा जगदीश सिंहसँग युगल गीत पनि उनले गाएकी थिइन् ।
अग्रजलाई
सम्मान, समकालीनलाई स्वागत र भाइबहिनीलाई माया र प्रोत्साहन दिन
कञ्जुस्याई नगर्ने अन्जुले बारम्बार भनिन् मैले गाएका गीतका गीतकार,
सङ्गीतकार र चलचित्रका नाम नछुटाइदिनुस् है । अम्बर गुरुङ, फत्तेमान, रनजीत
गजमेर, सुरेश अधिकारी, शम्भुजीत बास्कोटा, राजुसिंह, महेश घिमिरे, चेतन
सापकोटा, वसन्त सापकोटा, ताराप्रकाश लिम्बूलगायत लामो सूचि प्रस्तुत गरिन् ।
जुन सबै छाप्न सम्भव पनि थिएन ।
नेपाल बैंकका जागिरे बुबा
विष्णुकुमार पन्त तेह्रथुम पुग्दा त्यतैका रैथाने मनु योञ्जनसँग मायापिरती
गाँसिएपछि उनीहरूले त्यसलाई विवाहमा परिणत गरे । उनीहरूकै कान्छी छोरीको
रूपमा तेह्रथुममा जन्मिएकी हुन् अन्जु । सानैदेखि बुबा-आमाको साङ्गीतिक
वातावरणमा हुर्किएकी उनले सङ्गीतलाई नै आˆनो 'करिअर' बनाइन् । भन्छिन्-
"माइती-घर दुवैतिर साङ्गीतिक वातावरण र सहयोग छ । सङ्गीतको लागि म ' फ्रि बर्ड' हुँ ।"
बुबा-आमा पनि गीत गाउनुहुन्थ्यो ?
फिल्डमा
त आउनुभएन तर घरमा भने गाएर रमाइलो गर्नुहुन्थ्यो । गीत/सङ्गीतमा धेरै नै
रुचि राख्नुहुन्थ्यो । त्यसैले मैले पनि वातावरण पाएँ नि।
तपाइँको श्रीमान् मनोजराज पनि सङ्गीतमै हुनुहुन्छ । त्यसले तपाइँको गायनमा कतिको सहयोग पुगेको छ ?
एउटै
क्षेत्रमा हुँदाका फाइदा बेफाइदा दुवै छन् । काममा सहयोग पुग्छ । समझदारी
भएमा सबै ठाउँमा राम्रो हुन्छ, एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्छ ।
साँच्ची तपाइँहरूको प्रेम विवाह हैन, कहाँ भेट भएको हो ?
हो, गुरु (कृष्णमान) को घरमा नै हाम्रो भेट भएको । उहाँले (मनोजराज) मलाई सानैदेखि मनपराउनु हुँदोरहेछ ।
तपाइँलाई चाहिँ थाहा थिएन ?
के थाहा हुनु, म केटा भनेपछि एक कोस टाढा भाग्थेँ । उहाँ भने सङ्गीत सिक्ने निहुँमा मलाई हेर्न आउनु हुँदोरहेछ ।
अनि कहिलेदेखि प्रेम गर्नुभयो त ?
मलाई मन पराउने कुरा जब उहाँले भन्नुभयो । त्यसपछि दुई महिनामै विवाह भयो ।
कतिसालको कुरा हो, यो ?
विवाहपछि घरधन्दा सम्हालेर सङ्गीतमा लाग्न अप्ठेरो भएन ?
खासै
भएन, घरमा पनि सबैजना सङ्गीतप्रति रुचि राख्ने भएकाले । देवर विनोदराज
सिवाकोटी पनि सङ्गीतकै क्षेत्रमा हुनुहुन्छ । आफ्नै शब्द र सङ्गीतमा एल्बमको
तयारी गरिरहनुभएको छ ।
सन्तान छन् कि छैनन् ?
छिन्, एउटी ७ वर्षकी छोरी परितोषिका ।
परितोषिकालाई के बनाउने ?
त्यो उसको इच्छा । हामीले सल्लाह गरेका छौँ-छोरीको इच्छाअनुसारको क्षेत्रमा जान दिने ।
के बन्छिन् होली ?
उनमा
राम्रो गाउने क्षमता छ । बिहान मसँगै रियाज पनि गर्छे । रेकर्ड भएका मेरा
गीतको पहिलो स्रोता नै परितोषिका हुन् । त्यही गीत बजाएर नाच्छिन् पनि ।
सबैखालका गीत गाउनुभएको छ तर, कस्ता गीतमा आनन्द आउँछ ?
शब्द
र सङ्गीतको गहिराई बुझ्नुपर्छ गाउँदा, त्यसैले यो र ऊभन्दा पनि गाउन
थालेपछि सङ्गीतमा यसरी डुब्छु म आफैँलाई बिर्सन्छु । सङ्गीत त सबै एउटै न
हो ।
गीत 'हिट' हुनुमा कुन पक्ष बलियो हुनुपर्छ ?
शब्दले
सबैभन्दा पहिला स्रोता तान्छ तर त्यहीअनुसारको आवाज र सङ्गीत पनि
हुनुपर्यो । एरेन्ज पनि त्यतिकै महìवपूर्ण हुन्छ । तै पनि स्वरले
स्रोतालाई धेरै नै आकषिर्त गर्छजस्तो लाग्छ तर, कुन गीतले स्रोताको मन
'क्लिक' गर्छ त्यो भन्नै सकिन्न ।
न बिर्से तिमीलाई...गीत त खुब हिट भयो । कतिको आउँछन् एसएमएस ?
आएका छन् । जीवनमा मेल खाने गीत गाइदिनुभयो भनेर फोनै गर्नेहरू पनि धेरै छन् ।
कुन उमेर समूहकाले बढी एसएमएस र फोन गर्छन् ?
फिमेल बढी छन् । अनि बूढाबूढी र साना नानीहरूले पनि फोन गर्छन् ।
रेकर्डको बेलामा न बिर्से तिमीलाई...गीत यतिको हिट होला भन्ने लागेको थियो ?
थिएन, काम गर्ने हिसाबले मात्रै गरिएको थियो तर, हिट भयो । फेरि म ठूलो अपेक्षा राखेर काम गर्दिन । घमण्ड हैन, कामलाई पुज्छु ।
विहेपछि धेरै महिला कलाकार हराएका छन् । तपाइँं भने अझ चम्किनुभयो ?
अँ, त्यसै भन्थे तर, धन्य भगवान् । मलाई त विवाहपछि गायन फाप्यो ।
आरिस गर्नेहरू पनि होलान् है ?
जहाँ
पनि हुन्छन् नि । कतिपयले मेरो सफलतालाई 'रेसमा एक्लो भएको' भन्ने आरोप
पनि लगाए तर, कसैसँग द्वेष पाल्दिन । कसैको मन नदुखाउँ भन्ने मान्छे ।
कलाकारहरू विदेशिने क्रम बढ्दो छ, के भन्नुहुन्छ ?
विदेशिनुको दोष कसलाई दिनु खै ? प्रविधिले कलाकारको पेट मारिरहेको छ । आधारभूत आवश्यकता पूरा गर्न नै कठिन छ ।
गीत त खुब हिट भइरहेको छ, रोयल्टी कतिको पाउनुभएको छ ?
कहाँ पाउनु, रोयल्टी । कान्तिपुर एफएमले भने रोयल्टी दिएको छ ।
एउटा गीत गाएको कति लिनुहुन्छ ?
भन्नु र ? यहाँ त समस्या छ, लेख्नुस् न सात हजार ।
अहिले प्राप्त चर्चाबाट कतिको खुसी हुनुहुन्छ ?
खुसी त छु तर मात्तिएको छैन । न हिजो आत्तिएको थिएँ तर, ख्यातिलाई 'मेन्टेन' गर्न गाह्रो हुनेरहेछ ।
भगवानमा विश्वास गर्नुहुन्छ ?
अँ गर्छु, ग्रहदशा, देवीदेवताको विश्वास गर्छु । सबैको आशीर्वाद चाहिन्छ ।
दिनमा कतिवटासम्म गीत रेकर्ड गर्नुहुन्छ ?
एक दिन तीनवटासम्म गाउँछु । प्रायः दिनमा एउटा रेकर्ड भागमा परेको छ ।





Comments
Post a Comment