वीपी मार्गमा दुर्घटना एक जनाकाे निधन

सिन्धुली, २९ साउन । विपी राजमार्गअन्तर्गत गएराति सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड अन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा धनुषाका २६ वर्षीय प्रदीप दुलाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । काठमाडौँबाट धनुषातर्फ आउँदै गरेको दुलाल चढेको बा ४८ प ५६४६ नंको मोटरसाइकल शनिबार साँझ ६ः३० बजे तीव्रगतिका कारण दुर्घटनामा परेको थियो ।
सडकको छेउमा रहेको पिल्लरमा ठोक्किएर दुलाल सडकबाट ३५ मिटर तल खसेका थिए । मोटरसाइकल सडकमा नै रहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको मोटरसाइकल ठोक्किँदा चालक दुलाल उछिट्टिएर तल खसेको प्रहरीको अनुमान छ ।
सडकबाट ३५ मिटर तल खसेका दुलाललाई प्रहरीले उद्धार गरी थप उपचारका लागि धुलिखेल लगेको थियो । उनको धुलिखेलमा उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको जिप्रका सिन्धुलीले जनाएको छ ।

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप