फगत एक नजरमा ..हरिप्रसाद रिमाल
रङ्गमञ्च फेरिएको छ । दृश्य फेरिएको छ, तर पात्र उही । दैनिक मञ्चन
हुने नाटकका दुई पात्र छन्, निरन्तर ५३ वर्षदेखि निरन्तर । बिहान ६ बजे
सुरू भएको रङ्गमञ्च राति १० बजेसम्म चल्छ । दर्शकविहीन रङ्गमञ्चमा
सम्वादभन्दा बढी मौनता छ । उनीहरू आँखाले सम्वाद बोल्छन् । मनले अभिनय
गर्छन् । ८६ वर्षे नायक भन्छन्-"बूढेसकालमा तिमी नै मेरी प्राण-प्रेमी,
डाक्टर, नर्स र सबैसबै ।" नायिकाले भन्छिन्-"तिमीविना मेरो जीवन निरस-निरस छ
। दैवले जुराई दिएको जोडी हो हाम्रो ।"
वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालले जीवनका सात दशक नेपाली रङ्गकर्ममा बिताए, निर्देशक एवं रङ्गकर्मी, लेखक, गायक अनि सङ्गीतकारका रूपमा । उनै हरिप्रसादका लागि आफ्नैै घरको तीन सय वर्गफुटको शयनकक्ष नै यतिखेर रङ्गमञ्च भएको छ । जीवनको निष्कर्ष-अक्सिजन । अक्सिजनको पाइप समात्दै 'जीवनको रङ्ग ' मा छ वर्षदेखि अभिनय गरिरहेका छन् । निरन्तर साथ छ, वरिष्ठ रेडियोकर्मी कल्याणी रिमालको । हरिप्रसादको ठम्याई छ-"पूर्ण रङ्गमञ्च त यही संसार हो तर हामी मञ्चमा नाटक गर्नेहरूले भने यही संसारबाट छानेर केही आवश्यक दृश्य लिन्छौँ । त्यसैले रङ्गमञ्च जीवनको एक हिस्सा हो ।"
वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालले जीवनका सात दशक नेपाली रङ्गकर्ममा बिताए, निर्देशक एवं रङ्गकर्मी, लेखक, गायक अनि सङ्गीतकारका रूपमा । उनै हरिप्रसादका लागि आफ्नैै घरको तीन सय वर्गफुटको शयनकक्ष नै यतिखेर रङ्गमञ्च भएको छ । जीवनको निष्कर्ष-अक्सिजन । अक्सिजनको पाइप समात्दै 'जीवनको रङ्ग ' मा छ वर्षदेखि अभिनय गरिरहेका छन् । निरन्तर साथ छ, वरिष्ठ रेडियोकर्मी कल्याणी रिमालको । हरिप्रसादको ठम्याई छ-"पूर्ण रङ्गमञ्च त यही संसार हो तर हामी मञ्चमा नाटक गर्नेहरूले भने यही संसारबाट छानेर केही आवश्यक दृश्य लिन्छौँ । त्यसैले रङ्गमञ्च जीवनको एक हिस्सा हो ।"
भदौ २३ गते साँझ अबुधावीमा रहेकी कान्छी छोरी नीतासँग टेलिफोनमा कुरा
गर्न व्यस्त थिए, हरिप्रसाद । भन्दै थिए ः "अँ, नियमित औषधि खाइरहेको छु ।"
कुशे औँसी अर्थात् बाको मुख हेर्ने दिन । दीर्घ जीवनको शुभकामनासहित छोरीले गरेको फोनमा हरिप्रसाद गफिँदै थिए ।
"ठीकै छ अहिलेसम्म । आजै बिहान पनि डाक्टरकाँ गएँ ।"
'ल तेरी आमा आई', कल्याणी रिमाललाई फोन दिँदै हरिप्रसाद लम्किए
ओछ्यानतिर । औँसीको दिन बिहानैदेखि विदेशमा रहेका छोराछोरीको फोन आइरहेका
थिए । नेपाल आइपुगेकी कान्छी बुहारीले बिहानै आएर पूजाआजा गरिदिएकोमा दङ्ग
थिए, रिमाल दम्पत्ति ।
'पख्नुस् है एकैछिन', अक्सिजनको पाइप लगाउँदै औषधिको बट्टा खोज्दै भन्न थाल्छन्-'सबैभन्दा ठूलो साथी अक्सिजन भएको छ । तर, कहिलेकाँही अक्सिजनदेखि पनि रिस उठ्छ ।"
'पख्नुस् है एकैछिन', अक्सिजनको पाइप लगाउँदै औषधिको बट्टा खोज्दै भन्न थाल्छन्-'सबैभन्दा ठूलो साथी अक्सिजन भएको छ । तर, कहिलेकाँही अक्सिजनदेखि पनि रिस उठ्छ ।"
रङ्गमञ्च वरिपरी सम्मान, प्रशंसा र पुरस्कार टाँगिएका छन् ।
ओछ्यानसँगैको घर्रा खोल्छन् । लाग्छ, हरिप्रसादको रङ्गमञ्चमा औषधि पसल पनि छ
।"चक्की औषधि निल्न पनि सक्दिनँ", चिटिक्क परेको काठको 'चनौटो' मा चक्की
औषधिलाई मिरिक्क पार्छन् । कागजको टुक्रामा खन्याएर फाँको मार्छन् ।
गिलासको पानीले घुट्क्याउँछन् । मुहारमा एक प्रकारको चमक देखिन्छ- "के
गर्ने औषधिले बाँचिएको छ । यो अवस्थामा बाँचिरहनु पर्दा के अभिषाप बोकिएछ
जस्तो लाग्छ ।"
आफन्तहरू बिराना । घरको सङ्घार बने परदेश । आफू बाहिरफेर जान नसक्ने ।
आफन्त, शुभचिन्तकहरू धाएर आए, सम्झेर फोन गरे भेट हुन्छ । सयौँसँगको दैनिक
भेटघाट, कार्यक्रम सबै अहिले स्थगित छन् । निरश लाग्छ कहिलेकाँही
हरिप्रसादलाई आफ्नै दैनिकी । बैंसका ररङ्गीन र सङ्घर्षमय दिनहरू भदौरे भेल
जसरी उर्लिएर आउँछन्, अचेट्नै नसक्ने गरी । अक्सिजनको पाइप मिलाउँदै
हरिप्रसाद भन्छन्-"पुराना दिन सम्झन्छु, इच्छाशक्ति प्रवल बनेर आउँछ ।"
फेरि अर्को हरिप्रसाद 'भिलेन' बनेर उभिँदो रहेछ र भन्दोरहेछ-"तेरो अवस्था
यस्तो छ, तँ के गर्न सक्छस् ।"
आँखाले धोका दिन थाले । सम्झना शक्ति क्षीण बन्दै गए । बाक्लो चस्माको
फ्रेम चोर औँलाले माथितिर ठेल्दै उनी भन्छन्-"गर्नुपर्ने धेरै थिए, भो अब
सकिन्न । कल्याणीले एउटा संस्था बनाएकी छ । त्यसबाट सबै रहर खोज्नुपर्छ ।"
नाट्यस सङ्गीतको क्षेत्रका प्रतिभालाई पुरस्कृत, सम्मानित गर्ने
उद्देश्यसहित २०६५ सालमा कल्याणी रिमालले 'हरिप्रसाद कल्याणी रिमाल नाट्य
सङ्गीत प्रतिष्ठान' स्थापना गरेकी छन् । आफूले प्राप्त गरेका पुरस्कारको
रकमसहित जोडजाम गरेर १० लाख रूपियाँको कोष खडा गरेका छन्, हरिप्रसादले ।
त्यसकै ब्याजले नाट्य सङ्गीतमा बाँकी रहरहरूको पालनपोषण गर्ने सुरमा छन्
उनी ।
बिहान ६ बजे उठेर 'मर्निङवाक' नगएको छ वर्षजति भयो । बिहान सखारै
निद्राले छाड्छ । घोत्लियो ओछ्यानमा । ढोकामा पत्रिका झर्छ, पढ्यो । 'रिमोट
अन' गर्यो, टेलिभिजनमा दिनहुँ समाचारका उही शीर्षक फेरिन्छन् । हत्या,
अपहरण, सहमति, अराजकता, लुटपाट, कुटपिट यस्तै-यस्तै । वाक्क र दिक्क लाग्छ
तर गर्न सक्नु केही छैन । भुटभुटियो बस्यो । मनोरञ्जनमूलक कार्यक्रम
हेर्यो, हेरिसक्नु छैन । विकृतिमाथि व्यङ्ग्य पस्कने हास्यशृङ्खलाले उल्टै
विकृति -विसङ्गति थुपारिरहेको ।
जमानामा आफैँले निर्देशन गरेको हास्य नाटक 'भोजनभट्ट' सम्झन्छन्,
हरिप्रसाद । "नेताहरूमा विवेक हराउन थाल्यो । स्वार्थका लागि सबैलाई विभाजन
गरिएको छ । सम्झेर ल्याउँदा मनमा अशान्ति हुन्छ", गुम्सिएका मनका पात्रहरू
उभ्याउँदै हरिप्रसाद भन्छन्-"टुक्रा-टुक्रामा मान्छेका चरित्र विभाजित
भएको छ । यही देखेर डर लाग्छ ।" भान्साको काम भ्याएर बीच-बीचमा झुल्कने
कल्याणीले मनको गाँठो फुकाइन्-"देशको अवस्था देखेर दुःखी छौँ । तीज मनाएको
रे एक महिनादेखि भोजभतेर खाएकोखायै छन् ।"
"मुलुक भनेर सबैले एक वर्ष त्याग गर्ने हो भने देश बन्छ", उनमा केही आशा
पनि छ । हरिप्रसादले थपिहाले-"शक्तिहीन भइसकेको छु, नत्र नाटक बनाएर
समाजमा देखिएका यी चरित्रलाई रङ्गमञ्चमा उजागर गर्ने थिएँ ।"
फगत एक नजरमा कसैले लियो मन
जति बिर्सू भन्छु उति सम्झने झन्
जति बिर्सू भन्छु उति सम्झने झन्
ख्यातिप्राप्त हास्यव्यङ्ग्यकार केशवराज पिँडालीको शब्दमा २०१० सालतिरै
हरिप्रसादले यो गीत गाएका थिए । बिना बादल असिना झर्दैन..., न त सम्झनु न त
बिर्सनु..., आँसु बहाउ तिमी उता..., पवनले फूललाई..., जाउँ हामी
बादलपारि...लगायत एक दर्जनको संख्यामा हरिप्रसादका रेकर्ड गीत छन् ।
रङ्गकर्मबाट उदाएका उनी गायनमा धेरै समय टिकेनन् । तान्यो रङ्गकर्मले नै ।
राणाका दरबारदेखि सम्भ्रान्तका घरमा गीत गाउँदाका रोमाञ्चक क्षणहरू
सम्झनाका तरेलीमा ताजै छन् । गीत गाएपछि दरबारका 'नानी' बाट प्रेम
दर्साउँदै उपहारका रूपमा प्राप्त हुने 'कम्पनी मोहर' का पोका हुन् या
सम्भ्रान्त घरका युवतीबाट प्रस्तुत प्रेम प्रस्ताव, आप\mनो कलायात्राका
ऊर्जा ठान्छन् उनी । २०१४ सालमा कल्याणीसँग विवाह गर्नुअघि मात्रै होइन,
त्यसपछिका दिनमा पनि सुन्दरीका 'लोभलाग्दा प्रस्ताव' त कतिकति ? तर घरबार
बिगार्ने त्यस्ता प्रस्तावमा 'तटस्थ' नै रहेको दावी उनको छ ।
नेपालमा बनेको पहिलो चलचित्र आमा, हिजो आज भोलि, परिवर्तन, मनको बाँध,
सिन्दूर, के घर के डेरा, सन्तान, पिरतीजस्ता चलचित्रको अभिनयसम्म आउँदा
उनले रंगमञ्चमा मात्र होइन चलचित्रको पर्दामा चरित्रनायकका रूपमा आफूलाई
स्थापित गरे । २०३२ सालमा सांस्कृतिक संस्थानमा नाटक निर्देशक भएपछि
हरिप्रसादले नाचघरमा थुप्रै नाटकको निर्देशन र मञ्चन गरेका थिए । संस्थानमा
सवारी चालक थिए तर गाडी थिएन । त्यो बेला गणेश रसिकले लेखेको नाटक 'के
सक्कली के नक्कली' को निर्देशन गरे उनले । एक वर्षसम्म प्रदर्शन भयो ।
त्यसपछि संस्थानलाई गाडी र चालकलाई काम पनि दिए, उनले । ती दिनहरू उनका
लागि अब सम्झनाका झनिा त्यान्द्रा मात्र बनेका छन् ।
नेपाल भाषाको नाटक 'छगु रात' अर्थात् एक रात लेखेर निर्देशन (२००२) समेत
गरेका हरिप्रसादमा बाल्यकालदेखि नै नाटकमा आकर्षण रहेछ । काठमाडौँको
लगनटोलमा १९८२ साल असोज ५ गते जन्मिएका उनमा नेवार भाषा र संस्कृतिको गहिरो
प्रभाव थियो । डबलीमा हुने नाचगानको आकर्षणले पढ्नभन्दा उनलाई नाटकतिरै
तान्यो । त्यसमा प्रभाव थियो, नाट्यसङ्गीतप्रति घरपरिवारको मोह । दाजु
(काकाको छोरा) नाटककार तथा कवि गोपालप्रसाद रिमालको प्रभाव पनि उनमा थियो ।
दरबार हाइस्कुलमा अध्ययन थालेपछि भेट भएका नाटककार बालकृष्ण समको आँखामा
हरिप्रसाद परे । नाटककार समले चेला बनाएर आफ्ना नाटकमा अभियन गराउन थाले ।
रेडियो नेपालको स्थापनापछि रेडियो नाटकबाट उनी चर्चामा आउन थाले । गायन र
रङ्गमञ्चमा उत्तिकै सक्रिय हुन थाले ।
मेरो मन टुक्रा भएर
आँखाको बाटो बहने छ
आँखाको बाटो बहने छ
सात सालको परिवर्तनपछि सिंहदरबारस्थित राणाको घोडा बाँध्ने तवेलाबाट
सुरू भएको रेडियो नेपालको सुरूवाती गायकका रूपमा दर्ज भएदेखि हरिप्रसादले
एक दर्जन कालजयी गीत नेपाली सुगम सङ्गीतको भण्डारमा राखिदिए । शंकर
लामिछानेको शब्दमा उनले यही गीत गाएका थिए, पहिलोपटक । यद्यपि, २००७ सालको
क्रान्तिसँगै विराटनगरको जुटमिलमा तारिणीप्रसाद कोइरालाबाट सुरू भएको
रेडियोको इतिहास केलाउने हो भने रानुदेवी अधिकारी र शान्ति मास्केले
पहिलोपटक रेडियोमा गीत गाएका थिए ।
अक्सिजनको पाइप मिलाउँदै हरिप्रसाद टोलाउँछन् । आफ्नै रहरले निम्त्याएको
कहरबीच खुशी छन्, उनी । दङ्ग र फुरूङ्ग छन् छोरा-छोरीको प्रगति देखेर ।
आप\mनो आँखा अगाडि सन्तान नभएर के भो र ? बेलाबेलामा फोन गरेकै छन् । उति
टाढादेखि पालैपालो भेट्न आएकै छन् । रिमाल दम्पत्तिका लागि चित्त बुझाउने
बाटो यही भएको छ । जेठो छोरा इन्जिनियर अरूण रिमाल न्यूजर्सी राज्यमा छन् ।
कान्छो छोरा डा. अरविन्दप्रसाद रिमाल अमेरिकाकै मिजोरी स्टेट युनभर्सिटीमा
अर्थशास्त्र विभागको प्रमुख छन् । जेठी छोरी सर्लाहीमा, कान्छी अबुधावीमा ।
नातिनातिनाहरू विदेशी नागरिक ।
"कहिले चित्त बुझाउँछौँ, कहिले मन दुखाउछौँ", मुलुकको अवस्था देख्दा
छोराबुहारीलाई विदेश पठाएर ठीकै गरिएछ जस्तो पनि लाग्न उनलाई कहिलेकाहिँ ।
भन्छन्-"छोराछोरीको प्रगति देख्दा यही त खुशी हो जस्तो लाग्छ, आनन्द हुन्छ ।
बुढेसकालमा हेरचाह गर्ने मान्छे नदेख्दा किन विदेश पठाएँ जस्तो लाग्छ ।"
नजिकिदै आएको दसैंमा अमेरिकाबाट जेठा छोरा आउने खवरले रोमाञ्चित पनि छन्
रिमाल दम्पत्ति । छोराको टिकट पनि कन्र्फम भइसकेको कुरा उनीहरू एकै स्वरमा
बताउँछन् ।
आश्विन ९, २०६७
शनिबार, गोरखापत्र ।
शनिबार, गोरखापत्र ।



Comments
Post a Comment